पूर्व गृहसचिव प्रेमकुमार राई आजबाट अख्तियारमा पदभार ग्रहण
प्रकाशित मिति
२०७७ माघ २१ गते, बुधबार ०२:३५
काठमाडौं: पूर्व गृहसचिव प्रेमकुमार राई आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त भएका छन्। उनले राष्ट्रपति भवन शितलनिवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट सपथ लिएपछि अख्तियारमा पदभार ग्रहण गरेका हुन् ।
अख्तियारमा पुगेका राईसहित दुई नवनियुक्त आयुक्तलाई आयुक्त सावित्री थापा गुरुङले स्वागत गरेकी थिइन्। स्वागतमा सचिव सुरेश अधिकारी पनि सहभागी थिए। तर, कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी अनुपस्थित रहे। उनले राजीनामा दिने चर्चा चलिरहेको छ।
विगतमा जोशी र थापा आयुक्त हुँदा राई अख्तियारको सचिवका रुपमा काम गरेका थिए। यसपटक राई प्रमुख आयुक्त हुँदा जोशी र थापा आयुक्तमा सिमित भएका छन्। यसले उनीहरुमाथि दबाब बढेको थियो। तर, थापा केही महिना पदमै रहने निश्चित भएको छ।
संवैधानिक परिषद्को अध्यादेशमार्फत् संशोधित ऐन अनुसार अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई आयुक्तहरुमा पूर्व एआइजी जयबहादुर चन्द र उच्च अदालत पोखराका पूर्व कायममुकायम मुख्य न्यायाधीश किशोरकुमार सिलवाल नियुक्त भएका हुन्।








प्रतिकृया