वनको काठ बिक्री गर्न नपाउँदा समस्या
प्रकाशित मिति
२०७७ माघ १५ गते, बिहीबार ०१:४२
मोरङ: जिल्लाको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने, माटोले खाने र धोन्द्रो हुने जस्ता विद्यमान समस्या देखिएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वन मूल समितिअन्तर्गत रहेको सामुदायिक वनले कटान गरी घाटगड्डीमा राखेको काठ सरकारले गएको जेठ १५ देखि सालको काठ बेचविखनमा रोक लगाएपछि सो सामुदायिक वनको करिब १९ हजार क्युविक काठ कुहिने अवस्थामा पुगेको समितिका अध्यक्ष नवीन राईले बताउनुभयो ।
काठ फुकुवा नहुँदा आमनागरिकको समस्या समाधान गर्न व्यापारी एवं फर्निचर उद्यमीले भारतसहित अन्य देशबाट सो अवधिमा करिब रु ४२ करोडको विभिन्न जातको काठ आयात गरेको एकीकृत भन्सार जाँच चौकी विराटनगरले जनाएको छ ।
काठ बिक्री गर्ने निर्णय चाँडै नभए घाटगड्डीमा रहेका काठ बिक्रीयोग्य नभई दाउराका रूपमा जाने अध्यक्ष राईले गुनासो गर्नुभयो । उहाँले अन्य सामुदायिक वनमा पनि घाटगड्डीमा काठ रहेको तर बेच्न नपाएर लाखौँ मूल्य बराबरको काठ दाउरामा परिणत हुने स्थितिलाई हटाउन सरकारले छिट्टै काठमा लगाएको रोक फुकुवा गर्नुपर्ने माग राख्नुभयो ।
समितिअन्तर्गत तीन सामुदायिक वनका छ हजार उपभोक्ता रहेका छन् । घाटगड्डीमा साल, कर्मा, बोधघनेरो साज, असना, जामुन, पिठारी, कुम्भी, कुसुमलगायतका काठ रहेका छन् । समितिले प्रतिक्युविक साल ‘ए’ श्रेणीको रु ९००, ‘वि’ श्रेणीको रु ६००, ‘सि’ श्रेणीको रु ४०० मूल्य कायम गरेको छ भने अन्य सबै प्रकारको काठ प्रतिक्युविक ‘ए’ श्रेणी रु ६००, ‘वि’ श्रेणीको रु ४०० मूल्य राखेको छ भने दाउरा रु ३५० प्रति क्विन्टलमा बिक्री गर्ने गरेको छ । समितिले परम्परागत र वैज्ञानिक दुवै पद्धतिले रुख कटान गर्ने कार्य गरिरहको अध्यक्ष राईले बताउनुभयो ।
वैज्ञानिक पद्धतिबाट वन कटानले जैविक विविधता नष्ट हुने जनगुनासो रहे पनि सरकारले अहिले वैज्ञानिक वन व्यवस्थापनको नीति ल्याइसकेपछि भावी सन्ततिलाई पनि काठ पुर्याउने यस नीतिको उद्देश्यलाई आफूहरूले पनि अनुसरण गरिहेको अध्यक्ष राईको भनाइ छ ।
वैज्ञानिक वनबाट वन संरक्षणमा खर्चको वृद्धि हुने भएका परम्परागत पद्धतिको बूढा वा पुराना, रोगी, सुकेको रुख कटान गरी नयाँ बिरुवा रोप्नु नै उत्तम हुने अध्यक्ष राईको भनाइ छ । काठ बिक्री गर्न नपाउँदा घाटगड्डीमा रहेका काठको गुणस्तरमा कमी आउने भएकाले चाँडै यसको समस्या समाधान गनुपर्ने आवश्यकता देखिएको छ ।
काठ बिक्रीमा रोक्का भएपछि वनजङ्गलमा चोरी निकासीको समस्या देखिएको सामुदायिक वनका पदाधिकारीको भनाइ छ । समितिले वनमार्फत विपन्न परिवारलाई रोजगारमूलक सीप प्रदान गर्ने र समुदायमा विकास निर्माण कार्य गरिरहेको छ । यसैगरी समितिले वृक्षरोपण, वन संरक्षण झाडी सफाइलगायतका कार्य गरिरहेको छ भने नौ जना वन हेरालु कर्मचारीबाट चोरी निकासी कार्यको नियन्त्रण गरिरहेको छ ।
समितिले आफ्ना उपभोक्तालाई सोलार वितरण गर्नुका साथै पशुपालनका लागि ऋण पनि दिने गरेको र समुदायको मागअनुसार सो क्षेत्रमा ५०० किमी बाटोमा ग्राभेलको काम सम्पन्न गरिएको बताइएको छ । समितिलाई काठ बिक्री गर्न रोक लागेपछि र कोरोनाका कारण शुरु भएको बन्दाबन्दीका कारण १२ कर्मचारीलाई तलब खुवाउन, वृक्षरोपण, साधारण खर्च र वन व्यवस्थानमा हुने अन्य खर्चका लागि आर्थिक समस्या उत्पन्न भएको जनाइएको छ ।
विभिन्न सङ्घसंस्था, वित्तीय संस्था र व्यक्तिबाट अहिलेसम्म रु ८३ लाख कर्जाले उक्त कार्य सम्पन्न गरेको अध्यक्ष राईले बताउनुभयो । वन ऐन, २०७६ अनुसार सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन संरक्षणमा खर्च गर्नुपर्र्ने प्रावधान रहेको छ भने बाँकी ७५ प्रतिशतलाई १०० प्रतिशत मानी ५० प्रतिशत उद्यममा, विकासमा, विपन्न समुदायका आर्थिक विकासमा र ५० प्रतिशत कार्यालय व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान छ । समितिले आफ्नोअन्तर्गतको सामुदायिक वनबाट प्रत्येक वर्ष १० हजार क्युविक काठ कटान गर्ने गरेको छ ।रासस
खलङगा: पछिल्लो समयमा त्यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिए ।
जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती शुरु गरेको थियो । शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उनले जानकारी दिए ।
जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरु भएको चार–पाँच वर्षभयो । फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यन्वयन इकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।
यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उनले जानकारी दिए । उनले भने,“तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । ”
स्याउखेतीमा कृषि कार्यालय र स्याउ सुपर जोनले बिरुवा र साना सिँचाइ घेरबारमा कार्यालयबाट किसानलाई अनुदान दिने स्याउ सुजरजोन कार्यालयले जनाएको छ । फुजी स्याउ प्रतिबिरुवा एक हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा सात सय जिल्ला दररेट कायम गरेको छ । जिल्ला दररेट अनुसार किसानले प्रति बिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेको परियोजनाले जनाएको छ ।
रु १३ करोड लगानी
गुठीचौर एग्रो फर्मका सञ्चालक केसीबहादुर भण्डारीका अनुसार झण्डै १३ करोड लगानीमा फुजी जातको स्याउखेती गर्ने योजना रहेका जानकारी दिए । स्थानीयको जग्गामा २० वर्ष भाडामा लिएर फुजी स्याउखेती गर्न थालिको उनले बताए । उनले भने,“स्याउखेतीका लागि भिरालो जमीन भन्दा समथरफाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमीन समथर बनाएको छ ।”
घेरबारको काम ८० प्रतिशत सम्पन्न भएको छ । फागुन–चैतमा सबै सम्पन्न गरी ३० देखि ४० हजार फुजी स्याउका बिरुवा रोप्ने तयारी अवस्थामा रहेको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए । फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि युवालाई पनि स्वरोजगार बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न थालिएको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए ।
५० प्रतिशत गुणस्तरहीन बिरुवा
जिल्लाभर ११० वटा नर्सरीमध्ये ७५ नर्सरीले सक्रिय रूपमा स्याउका बिरुवा उत्पादन गरिएको सो परियोजनाले जनाएको छ । स्थानीय जातको स्याउका बिरुवा जिल्लामा सात लाख बिरुवा उत्पादन भए पनि स्याउ सुपरजोनको मापदण्डअनुसार ५० प्रतिशत बिरुवा काम नलाग्ने गुणस्तरहीन भेटिएको सुपरजोनका प्रमुख उनले जानकारी दिए ।
उनले भने,“गुणस्तरहीन बिरुवाले पाँच वर्षपछि किसानलाई घाटा हुने र किसान सचेत हुन आवश्यक छ ।” जिल्लाभर चार हजार ८०० हेक्टरमा स्याउखेती थालिएकामा एक हजार ५०० हेक्टरका स्याउले फल दिन कृषि विकास कार्यालयले जनाएको छ ।-रासस/






प्रतिकृया