• ४ साउन २०८३, सोमबार
  • २:०१ बिहान

पर्यटकीय क्षेत्रको पहिचान, गुरुयोजना निर्माण, पुर्वाधार विकास र प्रचार प्रसारमा लगानी कम भएको गुनासो

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:१७

 

३ जेठ,भक्तपुर ।
भक्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएपनि पर्याप्त लगानी नहुँदा पर्यटन व्यवसाय फष्टाउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र एनएमसी भक्तपुरले नगरकोटमा भएको ‘भक्तपुरको पर्यटन विकासका सम्भावना, अवसर र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले भक्तपुरको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको पहिचान, गुरुयोजना निर्माण, पुर्वाधार विकास र प्रचार प्रसारमा लगानी कम भएको बताए।

Kamana Sewa

उनीहरुले पर्यटन पुर्वाधार निर्माण र प्रचार प्रसारकालागि सरकारी र निजी दुवै क्षेत्र उदासीन बन्दा पर्यटन व्यवसाय धरासयी बनेको निचोड दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर प्रदेश तीनकै मुख्य गन्तव्य रहेको बताउनुभयो । उहाँले प्रदेश तीनमै थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु छन् भन्दै तिनको एकिकृत विकास गरेर भक्तपुरसँगै प्रदेश तीनकै पर्यटन विकासकालागि हामीले सोच्नुपर्ने बेला भएको बताउनुभयो । संघीयता कार्यान्वयनसँगै साना पुर्वाधार निर्माणमा जुटेका स्थानीय तहहरुबीचमै आपसी द्धन्द्ध सिर्जना हुँदा पर्यटन क्षेत्रमा लगानी कमजोर बन्दै गएको उहाँको भनाई थियो ।

Classic Tech Desktop

उहाँले भक्तपुर, काभ्रे र काठमाडौँको सीमास्थित नगरकोट, डोलेश्वर धाम, भक्तपुर दरबार स्क्वायर लगायत यहाँका सांस्कृतिक सम्पदाहरु आदि भक्तपुरका उल्लेख्य सम्भावना रहेका पर्यटकीय क्षेत्र भएको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफुले चाहँदा–चाहँदै पनि नगर क्षेत्रको पर्यटन विकासमा काम गर्न नसकेको बताउनुभयो । उहाँले विश्व सम्पदास्थल चाँगुनारायण मन्दिर हामीसँगै छ, नगरकोट लगायत दर्जनौँ सम्भावित ठाउँहरु छन्, केही योजनाहरु पनि बनेका छन्,भन्दै तत्कालै भनेजसरी काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।

उहाँले नगरकोटमा ३६ वर्षदेखि पर्यटक आगमन भइरहेको भन्दै अहिलेसम्म हिमालको दृश्य र यहाँका मनोरम प्रकृतिबाहेक हेर्नलायक अर्को केहीपनि संरचना निर्माण हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । ‘नगरकोट देशविदेशमा चर्चित छ, यहाँ पर्यटक पनि आउँछन्, तर यो एक राते गन्तव्यमात्रै बनेको छ, जसले गर्दा हामीलाई धेरै फाइदा हुनसकेको छैन,’ उहाँले भन्नुभयो ,सरकारी लगानीबाट पर्यटकलाई रमाएर अल्मिलिन सक्ने बातावरण सिर्जना गर्न नगरपालिकाले पहल गरिरहेको छ ।
उहाँले नगरकोटमा पर्यटकीय बसपार्क निर्माण, भ्यु–टावर, फुट ट्रेल निर्माण, पर्याप्त खानेपानी, व्यवस्थित फन पार्क र गार्डेनहरु निर्माण गर्ने योजनाहरु नगरपालिकाले बनाएको बताउनुभयो । ‘यहाँ १८ वर्षदेखि भ्यु–टावर निर्माणमा जोड दिंदै चाँगुनारायणदेखि लाकुरी भञ्ज्याङसम्म जंगल नै जंगल पदमार्ग विकासको काम समेत प्रक्रियामा अघि बढेको बताउनुभयो ।

नगर क्षेत्रका भैरव महादेव मन्दिर, नौ पोखरी पुनर्निर्माण लगायत काम समेत योजनामा रहेका उहाँले बताउनुभयो । ‘नगरपालिकासँग पर्यटकीय गुरुयोजना छैन, तर साना ठूला थुप्रै योजनाहरु भने छन्, तुरुन्तै पुरा गर्न नसकिएको सत्य हो,’ उहाँले भन्नुभयो । प्रमुख मिश्रले भक्तपुरमा सबैभन्दा बढी पर्यटक आगमन हुने भक्तपुर नगरपालिकाले समेत भक्तपुरमै अन्यत्र पनि थुपै सम्भावना भएका ठाउँहरु छन् भनेर नभन्ने गरेको गुनासो गर्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरकोट क्षेत्रमा आफुले देखेदेखि अहिलेसम्म सरकारी क्षेत्रबाट पुर्वाधार निर्माणमा ठोस् काम नभएको तिखो अनुभूति सुनाउनुभयो । ‘यहाँको बाटो ठेकेदारले काम नगरेर बन्न सकेको छैन, बसपार्कका लागि बजेट छैन, शौचालय छैनन्, पानीको असुविधा छ, पर्यटक घुम्ने रमाउने प्रशस्त पार्कहरु देखिएनन् ।’ उहाँले भन्नुभयो ।स्थानीय तहहरुसँग आफ्नो क्षेत्रका पर्यटन गुरुयोजना नुहुँदा समेत काम हुन नसकेको उहाँले सुझाब दिनुभयो । ‘पर्यटन विकासकालागि गुरुयोजना हुनुपर्छ, तर अहिलेसम्म बनेको कुनै जानकारी पाएको छैन, यो क्षेत्रमा हुने लगानी एकीकृत रुपमा गर्ने वातावरण हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामाले सरकारले नेपालमा पर्यटन क्षेत्रमा उल्लेख्य सम्भावना भएपनि सरकारले तिनको पहिचान गरेर लगानी गर्न नसकेको बताउनुभयो । सरकारलाई कुन क्षेत्रमा लगानी गर्दा देशलाई संमृद्धितर्फ लैजान सकिन्छ भन्ने कुनै मतलव छैन,उहाँल भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अन्तर नगर सहकार्यको वातावरण नहुँदा सिंगो जिल्लाको पर्यटकीय गुरु योजना बन्न नसकेको बताउँदै सरकार, निजी र सामुदायिक क्षेत्रलाई काम गर्ने बातावरण बन्नुपर्ने बताउनुभयो ।

गैसस महासंघका महासचिव अर्जुन भट्टराई, समाजसेवी रविन्द्रप्रताप शाह, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदर दवाडी ,चाँगुनारायण नगरपालिका–९ का अध्यक्ष सन्तबहादुर गोले र वडा नं। ७ का अध्यक्ष ज्ञानबहादुर केसी लगायतले भक्तपुरको पर्यटन विकासमा लगानी केन्द्रित हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रम आयोजक राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रम चाँगुनारायण, मध्यपुर र सुर्यविनायक नगरपालिका तथा सन्दिपवनी सामुदायिक कलेजको सहयोग तथा गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले गरेको उपाध्यक्ष जनक गिरीले बताउनुभयो । सो अवसरमा भक्तपुरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सरकारी कार्यालय कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख ,पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया