• १० असोज २०८३, शनिबार
  • ९ः१६ राती

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०७:५१

काठमाडौं, पुस २१ । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले चार दिनको अवधिमा कुल १ अर्ब ९७ करोड ७४ लाख ६४ हजार ९४७ रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएको छ ।

National Life

विभागका अनुसार गत शुक्रबार एकै दिन नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । सोमबार भने विभागले पुनः नक्कली भ्याट बिलको कारोबार गर्ने व्यवसायी प्रदीप साहलगायत १० जनाविरुद्ध ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले सोमबार सर्लाही धनकौल गाउँपालिका–६ का मुख्य कारोबारी साहले आरकेएम ट्रेडिङ प्रालिलगायत विभिन्न १३ वटा फर्म कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गरेको फेला पारेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अनुसन्धानको क्रममा फेला परेका ती सबै फर्मको बैंक खाता सञ्चालन मुख्य कारोबारी प्रदीप साहले नै गरी विभिन्न फर्मको नाममा झुटा तथा नक्कली बिक्री बीजक जारी गरी भ्याट तथा आयकर राजस्व चुहावट गरेको खुल्न आएको विभागले जनाएको छ । विभागले यी १० जना कारोबारीविरुद्ध कैद सजायसमेत माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको बताएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध विभाग आक्रामक रूपमा प्रस्तुत भएको बताए । उनले अहिले यी कम्पनीका सञ्चालकविरुद्ध राजस्व छलीमा मुद्दा चलाइएको बताए ।

राजस्व छलीमा संलग्न व्यवसायीले विभिन्न तरिका अपनाएर राजस्व छल्ने गरेको भेटिएको विभागले जनाएको छ । केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, भ्याट विवरण तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी बीजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ । उनीहरूविरुद्ध बिगो दाबी असुल्न र बिगोको दोब्बर जरिमाना एवं कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिकृया