कुवेतमा घरेलु कामदारको छेलोखेलो : प्रतिवन्धका कारण गैरकानूनी रुपमा पठाउनेलाई सहज
प्रकाशित मिति
२०७७ पुष १८ गते, शनिबार ०२:००
काठमाडौं : घरेलु कामदारको भिसा एकवर्ष यता जारी नगरिएको भन्दै कुवेतमा सरकारविरुद्ध आक्रोस बढेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले गतवर्षदेखि घरेलु कामदारको भिसा स्थगित गरेको थियो । भिसा स्थगित गरिएको एक वर्ष हुनलाग्दासमेत खोलिएको छैन ।
कुवेत सरकारले घरेलु कामदार आपूर्ति गर्दै आएको फिलिपिन्स, भारत र श्रीलंकाबाट व्यवसायीक उडान शुरु नभएका कारण समस्या भएको जनाउँदै आएको छ । तर जनस्तरमा सरकारमाथि घरेलु कामदारको मुद्दालाई कोभिड भाइरस महामारीको कारण देखाएर उदासिनता देखाएको गुनासो बढेको अलजजिराले उल्लेख गरेको छ ।
कुवेतको घरेलु कामदार आपूर्ति सम्वन्धी एजेन्सीका अध्यक्ष खालिद अल डाख्नानले विदेशबाट आउने घरेलु कामदारका लागि संस्थागत रुपमा नै ‘बिल्सालामाह’ क्वारेन्टाईनको व्यवस्था भइसकेको अवस्थामा व्यवसायीक उडान रोक गर्नु आवश्यक नभएको धारणा राखेका छन् ।
उनले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनगर्ने गरी विदेशबाट कुवेत पुग्ने घरेलु कामदारको आवागमन सूचारु गर्न माग गरेका छन् । कुवेतीहरु विदेशी घरेलु कामदारहको अभावमा आफ्नो दैनिकी सञ्चालन गर्न असमर्थ भइरहेको भन्दै उनले सरकारसंग नयाँ कामदारको भिसा रोक्ने अधिकार नरहेका जनाएका छन् ।
हाल काम गरिरहेका धेरै विदेशी कामदारहरुको भिसा अवधि सकिसकेको र उनीहरु स्वदेश फर्किने अवस्थामा रहेपनि कामदारहरु भाग्नसक्ने डरले निगरानी गर्नु परिरहको उनले बताएका छन् ।
कुवेत नेपाली महिलाहरुको लागि कतिपयले असुरक्षित भनेपनि आकर्षक गन्तव्यका रुपमा रहेको थियो । त्यहाँ उद्योग र घरेलु कामदारका रूपमा नेपाली महिलाहरू जाने गरेका थिए । तर सरकारले घरेलु कामदारका रुपमा जान श्रम स्वीकृति रोकेका कारण घरेलु कामदारका रुपमा जान पाएका छैनन् । यसले कुवेतमा देखिएको रोजगारीको ‘छेलोखोलो’ नेपालीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो अवस्था छ । तर गैर कानूनी रुपमा भारत तथा श्रीलंकाको बाटो हुँदै पठाउने दलालहरुले भने कुवेतमा देखिएको रोजगारीको अवसरबाट ठूलोलाभ लिन सक्ने खतरा रहेको जानकारहरुको भनाइ छ ।
विगतमा नेपालबाट वैधानिक रुपमा जान रोक लगाएपछि दलालहरुले भारतीय र श्रीलंकाको बाटो हुँदै धेरै महिलाहरुलाई कुवेत पुर्याएका थिए । कुवेतमा झन्डै ७० हजार नेपाली कामदार छन् । तीमध्ये २५ हजार महिला रहेका छन् । २५ हजार मध्ये पनि २२ हजार घरेलु कामदार छन् ।
नेपाल सरकारले विगत चार वर्षअघि नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाउँदा श्रम संझौता गरेर मात्र उनीहरू पठाउने बताएको थियो । तर श्रम सम्झौता हुन सकेको छैन । यद्यपि भारत श्रीलङ्का जस्ता देश हुँदै जाने क्रम अहिले पनि रोकिएको छैन । सरकारले वैधनिक बाटो बन्द गरेर अवैधाकि बाटोलाई किन प्रवर्धन गरेको छ भन्ने प्रश्न धेरैको छ । नेपाली कामदार असुरक्षित भएको भन्दै सरकारले प्रतिबन्ध लगाएपनि कुवेतमा काम गर्ने नेपालीहरुले सरकारले भने जस्तो असुरक्षाको अवस्था नरहेको बताउँछन् ।








प्रतिकृया