काठमाडौँ उपत्यका वर्षकै धेरै चिसो , तराईमा शितलहर र हुस्सु
प्रकाशित मिति
२०७७ पुष २ गते, बिहीबार ११:०३
काठमाडौँ, काठमाडौं उपत्यकामा आज यो वर्षकै धेरै चिसो भएको छ ।
आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम लगातार घट्दै जाँदा चिसो अत्याधिक मात्रामा बढेको छ ।
रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद मञ्जु बासीले बताएकी छन् । उनका अनुसार दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि तराई अधिकांश भू(भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । रातको समयमा हुस्सुसहित शितलहर पर्न थालेपछि तराईका जिल्लामा ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा पर्न थालेका छन् ।
तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् । हुस्सु र कुहिरोले पारदर्शीतामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ ।
आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।






प्रतिकृया