• २५ भदौ २०८३, बिहीबार
  • ५ः१६ बेलुका

कविता: बाका पाइलाहरू,कौशिला रिसाल,

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०८:२६

कौशिला रिसाल,  कवि तथा साहित्यकार
कविता

National Life

बाका पाइलाहरू

शिशिरको ठण्डीले निलेर
उघ्रिएको थिएन उदास आकाश
घाम ओढ्न नपाएर
थुरथुर कामिरहेथ्यो
मेरो आँगनमा मध्याह्न !

Classic Tech Mobile
Classic Tech Desktop

यही समयमा हो,
मेरो घरको जस्केलो हुँदै
पसेको एक झोक्का बतासले
मबाट खोसेर आफूसँगै लगेको मेरो बालाई !

बा गएसँगै हराएको हो
खुसी मुस्कुराउने मेरा रहरहरूको फेरो !
जब अन्तिम सास उँडेर
जमिनमा ढल्यो पृथ्वीजस्तो बाको शरीर
तब मसँगै टुहुरो भयो
पिँढीको फलैँचा
भासियो आँगनको डिल
बसाइँ सर्यो घरको धुरीखाँबो
गौँथलीले छोडिदियो
पालीको गुँडमा गीत गाउन
र टाढा भए
बाँसका गाँजबाट चिर्बिराउने सारौँहरू !

त्यही दिनदेखि धुमिँलिदै गए
बासँग जोडिएर
मेरो जीवनमा आएका पलहरू
यथार्थ विगत भए
र विगत कहिल्यै नमेटिने संस्मरण भए !

बा गएदेखि
अम्बा डालीभरि फलेर पनि
रित्ता भए बगैँचा
र इन्द्रेणीको घेरोभित्र
कहिल्यै भरिएन जीवनको रङ
ऋतुचक्र कुरेर बसिरहे
वसन्तमा फुल्ने आरु र निबुवाका बोटहरू !

बाले निदाएदेखि चीर निद्रा
मैले देख्न छोडेँ सपना
मेरा मनका बारीमा फुल्न छोडे
निला भुइँचम्पाहरू
र अनाहकमै झरेर गए केवराका फूलहरू पनि !

तलाका डोरीहरूमा
झुन्डिएनन् पहेँला केराका हाता
पालिमाथि टाँगिएनन्
मकैका झुत्ताहरू
र भकारीहरू भरिएनन्
मनसुली र कालो झिनुवाका दानाहरूले !

 

बिरौटाले फुलाएन
अलैँचीको बैँस
बर्खामा लौका र घिरौँलाले
धनसारका छाना बिर्सिए
काँक्रोले फलाएन
हाम्रा लागि कहिल्यै जिन्दगीका चिचिलाहरू !

घारसम्म आउन छोडे
मह लिन गएका माहुरीहरू
गोठ छोडिदिए
माली गाई र सेती भैँसी
बाँझै बसे
आँगेका सुर्काहरू
र फल्न जानेनन् कोलडाँडाका गराहरूले पनि !

शून्य शून्य भए
बा गएदेखि
ती निबारा र काभ्रोका बोटहरू
रित्तो भयो मेरो भरोसाको मायालु काख !

बदलिएन समय
बरु बदलिए अनेक यामहरू
तर कहिल्यै बदलिएनन् बाका सम्झनाहरू !

झर्न खोजिरहने मेरो आँसुलाई
ओभानो हुने गरी
आँखाबाट बगाइदिएकी छु
सम्झनाको एउटा तस्विर
यो मनभित्र सम्हालेर राखेकी छु !

थाहा छ
बाका ती पाइलाहरू
अब कहिल्यै फर्किने छैनन् !

यतिखेर म,
तिनै पाइलाका डोबहरू पछ्याएर
एक्लै एक्लै उक्लिरहेछु
जिन्दगीका सुनसान उकालीहरू !
-प्रकाशोन्मुख कवितासङ्ग्रहबाट

प्रतिकृया