• ६ असार २०८३, शनिबार
  • ६:५७ बेलुका

बिआरआई नेपालको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण छः अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार ०६:५६

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अगाडि सारेको बिआरआई परियोजनाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सडक, रेलमार्ग तथा हवाई सञ्जालको विस्तार गरी नेपाल हुँदै दक्षिण एशियालाई जोड्ने एउटा महत्वपूर्ण सम्पर्क सञ्जालका रुपमा बिआरआई परियोजना अगाडि बढेको बताउनुभयो ।

शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै गत वर्ष चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपालको दुई दिवसीय राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्नुभयो । उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा समझदारीले पनि एकार्काको विश्वास र सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो ।

Kamana Sewa

बिआरआई परियोजनाबाट नेपाल र चीन दुवै देशले फाइदा लिन सक्ने भएकाले त्यसलाई आफूले महत्वपूर्ण अवसरका रुपमा समेत लिएको स्पष्ट पार्नुभयो । गत वर्ष चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा भएका सम्झौतामा एकार्का देशको भावनालाई समेटेको उहाँको भनाइ थियो ।

Classic Tech Desktop

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा दुई पार्टीबीच विभिन्न संयन्त्रका माध्यमबाट सम्पर्क विकास गर्ने र त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने विषयमा महत्वपूर्ण छलफल भएको स्मरण गर्दै अध्यक्ष दाहालले सोही छलफलका आधारमा दुई पार्टीबीच महत्वपूर्ण विचारविमर्श भइरहेको बताउनुभयो ।

कोभिड महामारीका कारण यसै वर्षको शुरुआतमा हुने भनिएको उच्चस्तरीय भ्रमण हुन नसकेको जनाउँदै उहाँले कोरोनाको प्रकोप थमिएपछि दुई देशबीच थप उच्चस्तरीय भ्रमण आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सधँै एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै उहाँले नेपालको भूमिबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धतासमेत दोहो¥याउनुभयो । नेपालको सार्वभौसमत्ता र अखण्डताका पक्षमा चीनले देखाएको सद्भावलाई अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

कोरोनाको महामारीको नियन्त्रणका लागि चीन सरकारका तर्फबाट नेपाललाई निरन्तर प्रदान गरिएको सहयोगप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गर्दै आएको सहयोग हाम्रा लागि असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपालमा अझै पनि कोरोनाको महामारी बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न चीन सरकारबाट तर्फबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले महामारीबाट सिर्जित समस्याको निराकरण गर्दै आर्थिक विकासमा समेत थप सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वभर नै फैलिएको कोरोना महामारीको नियन्त्रणका लागि चीन सरकारले गरेको सहयोगको विश्वस्तरमा विश्व स्वास्थ्य सङ्गठनलगायतले समेत उच्च प्रशंसा गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले मानव जीवनको रक्षाका लागि उसले खेलेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिनुभयो । यस्ता कार्यक्रमले नेपाल र चीनबीचको मैत्रीसम्बन्धलाई दीर्घकालसम्म विस्तार तथा विकास गर्न र नयाँ उचाइमा उठाउन महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो ।
रासस

प्रतिकृया