प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध काँग्रेस उत्रियो आन्दोलनमा
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०६:५८
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति अनाएको छ । नेपाली काँग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। ‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को अस्थायी राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको सभापति रज्जाकले बताए । नेकपा नेतृत्वको वर्तमान सरकारको यो प्रस्तावविरूद्ध आफ्नो स्थानबाट चरणवद्ध आन्दोलनमा उत्रिन जिल्लावासीलाई काँगेसले अपील गरेको छ । काँग्रेसले रूपन्देहीलाई नै राजधानीका लागि थालिएको आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सरकार हुने काँग्रेसले भनेको छ । यता नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार नै विरोध प्रदर्शन सुरु गरिसकेको छ ।







प्रतिकृया