नरैनापुरमा कोरोना सगैं बाढीको सन्त्रास
प्रकाशित मिति
२०७७ असार १२ गते, शुक्रबार ०९:२०

नरैनापुर । आकाशमा कालो बादल मडारिँदै थियो । नरैनापुर गाउँपालिका–५ भगवानपुरकी नाजिया नुरीले बल्दै गरेको चुलोतिर हत्तपत्त हेरिन् । मुसुरोको दाल कसौंडीमा हालिन् । जतिसक्दो छिटो पकाउने तरखरमा थिइन् ।
पानी पर्यो भने छानो चुहिएर चुलो चिसिन्छ । दिनभरि पानी परे नजिकै राप्तीको बहाव भान्साभित्रै पस्छ । त्यसैले १६ वर्षीया नुरीले मंगलबार दिउँसो २ बजे खाना पकाउँदै थिइन् । ‘पानी नपर्दै काँचो र पाकेको जे छ, हतारमा खाइहाल्नुपर्छ,’ उनले भनिन्, ‘भगवानपुरका बासिन्दाको यही बाध्यता छ ।’ मौसम हेरेर चुलो बाल्नुपर्ने, नदीको बहाव हेरेर निदाउनुपर्ने नियति छ । ‘काँचो पाकेको जे हुन्छ, त्यही खाइहाल्नुपर्छ,’ उनले भनिन्, ‘बादल हेरेर कति पानी पर्ला भन्दै हतारहतार खाना बनाउनुपर्छ ।’

उनको जस्तै नरैनापुर गाउँपालिकाका राप्ती नदी छेउछाउ बस्नेहरूको खाने र सुत्ने समय बिथोलिएको छ । कोरोना संक्रमणबाट उम्किन नपाउँदै यहाँका बासिन्दालाई डुबानमा पर्ने त्रास सुरु भएको छ । बर्सेनि बाढीको समस्या हुन्छ । उनीहरूका लागि यो नियतिजस्तै हो । स्थानीय गंगापुरको छेउमै राप्ती नदी सुसाइरहेको छ । तीन दिनअघि परेको पानीले राप्तीको बहाव बढेर यहाँका गंगापुर, भोजभगवानपुर, जमुनी, टेपरीलगायत गाउँका घरहरूको आँगनमा बाढी पुगिसकेको छ । तीन दिनअघि नाजियाको घरभित्रै बाढी पस्यो । त्यसबाट क्षति त भएन, तर नाजियाको परिवार भने रातभर जाग्राम बस्नुपर्यो । आमाबुबासहित नौ जनाले रातभरि घरका सामान रुँघे । प्रत्येक वर्षामा उनीहरूको छाप्रोको घर डुबानमा पर्छ । उनकी छिमेकी सवेरा मुखेरीले दिउँसो २ बजे नै खाना खाइसकेकी थिइन् । गत वर्ष आएको बाढीले जमिनको आधा भाग काटेर लगिसकेको छ । स्थानीयले मिलेर बाँस जोडेर नदीमा बाँध लगाएका छन् । त्यो पनि नदीले कटान गरेर घरसम्मै पुगेको सवेराले सुनाइन् ।
नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष वीरेन्द्रपाल सिंहका अनुसार वडाका गंगापुर, जमुनी, कोहला, लक्ष्मणपुर, रामपुर जोलजालालगायत गाउँ बाढीले धेरै प्रभावित हुने क्षेत्रमा पर्छन् । झन्डै १ हजार ६ सय घरधुरी बाढी प्रभावित क्षेत्रमा रहेको उनले बताए । जसका अधिकांश घर झिँजा र छेस्काले बारेर बनाइएका झुप्रा छन् । चार वर्षअघि वडा पूरै डुबानमा पर्दा हजारौं मानिस विस्थापित भएका थिए । केही वर्षयता डुबान नपरे पनि बाढीले दैनिक जीवनमा असर गरिरहेको उनले बताए । डुबान भयो भने सुरक्षितसाथ बस्ने सेल्टरको अभाव रहेको उनले सुनाए । भारतको सीमासँगै जोडिएको जमुनीमा जंगल छेउ बस्ती छ । खेत सबै बाढीले बगर बनाएपछि यहाँका स्थानीय युवा भारतमा मजदुरी गर्न पुग्छन् । ‘कोरोनाको त्रासले अहिले धेरै घर फर्किएका छन्,’ वडाध्यक्ष सिंहले भने, ‘खेती गर्ने जमिन बगर बनेको छ, रोजगार केही छैन ।’
सहरी विकासको सहयोगमा एउटा सेल्टर बनाउने योजना रहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए । पाँच महिनाअघि ठेक्का दिए पनि ठेकेदार बेपत्ता भएपछि काम अलपत्र परेको उनले सुनाए । बाढी आए नरैनापुरमा भएका स्कुलमै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । नरैनापुर–६, भोजपुरका ३६ वर्षे सर्जु अहिमदका अनुसार चार वर्षअघि तीन सयको हाराहारीमा बस्ती थियो । ‘डुबानमा परेपछि नयाँ बस्तीमा सरे पनि अझै यहाँ एक सय घरधुरी छन् । अधिकांश घर फुसले छाएका छन्,’ अहिमदले भने, ‘२५ मिटर जति बाँध लगाइएको भए पनि भत्किएर गाउँ नै कटान गर्न लागेको छ ।’ झन्डै २ सय मिटर पक्की बाँध नलगाएसम्म नरैनापुरको वडा ६ र ५ का बस्ती डुबानको उच्च जोखिममा रहने उनले सुनाए । यो समाचार आजको कान्तिपुरले प्रकाशन गरेको छ ।



प्रतिकृया