पर्वत पहिरो अपडेटः पहिरोमा परि मृत्यु हुनेको संख्या ५ पुग्यो
प्रकाशित मिति
२०७७ जेष्ठ ३२ गते, आईतवार ०९:२९

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
पहिरोले पुरिएर बेपत्ता भएका ६ जनामध्ये अरू दुई जनाको पनि शव फेला परेको छ ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव यसअघि नै फेला परिसकेको थियो । बाँकी २ वटा शव कसको भन्ने खुलाइएको छैन ।
अरू ४ जना अझै वेपत्ता भएका छन् । उनीहरुको स्काभेटर प्रयोग गरी खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका थिए ।
स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिएका छन् ।
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धार शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।
शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो ।
पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको हो ।



प्रतिकृया