• २१ भदौ २०८३, आइतबार
  • २ः५९ दिउँसो

सरकारले तारे होटल, रिसोर्ट र होमस्टेलाई क्वारेन्टिन बनाउने तयारीमा

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०९:५७

 

National Life

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेको जनाएको छ ।

कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको बताए ।

Classic Tech Desktop

मन्त्री मानन्धरले उपत्यकामा क्वारेन्टिन व्यवस्थापनलाई चुस्त बनाउनका लागि अनुगमन गरिएको दावी गरेका छन् । साथै सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टेसमेतलाई क्वारेन्टिन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परेपनि तत्काल निर्माण गर्न सकिन्छ । मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा रहेका ठूला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताए ।

मन्त्री मानन्धरका अनुसार पाँच स्थानमा तयारी हालतमा रहेका क्वारेन्टिनको व्यवस्थापनका लागि आवश्यक सहजिकरण गरिएको जानकारी गराएका छन् । मन्त्री मानन्धरका अनुसार पशुपतिको धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा सय बेड क्षमता रहेको छ । स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको मन्त्री मानन्धरले बताए ।

यस्तै भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । खरिपाटीमा २०८ र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए । अनुगमनका क्रममा खरिपाटी र तेलकोटको क्वारेन्टिनमा सबै पुर्वाधार तयारी अवस्थामा रहेको बताउँदै मन्त्री मानन्धरले अन्य स्थानमा पनि सामान्य सुधार गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी गराएका छन् ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा स्थानीय तहहरुले पनि क्वारेन्टिन बनाएको बताउँदै सबै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन सञ्चालनको सहजिकरण सरकारले गर्ने बताए ।

प्रतिकृया