कोरोना भाइरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य
प्रकाशित मिति
२०७६ चैत्र १९ गते, बुधबार ०५:३२

काठमाडौं । देशभित्र भेटिएका कोरोना भाइरसका संक्रमित मध्ये हाल चारजना उपचाररत छन् । दुईजना उपत्यकाभित्र र दुईजना बाहिर उपचार गराइरहेका छन् । चारै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका दुईजना सामान्य अवस्थामा पुग्दैछन् । दुवैलाई ज्वरो नभएको र सामान्य खोकी पनि निकै कम भइसकेको बुझिएको छ । दोस्रो संक्रमित फ्रान्सबाट आएकी किशोरीलाई पूर्ण स्वस्थ हुने अपेक्षा सहित अर्को हप्ताभित्र डिस्चार्ज गर्ने सम्भावना भएको टेकु अस्पताल स्रोतले जानकारी दिएको छ । अर्का उपचाररत युवक पनि अर्को हप्ताभित्र नै डिस्चार्ज हुन सक्छन स्रोतले जानकारी दिएको छ।

यसैगरी धनगढीमा उपचार गराइरहेका युवक पनि सामान्य हुँदै गएका छन् । युवकले पनि आफू सामान्य हुँदै गएको बताएका छन् । उनलाई ज्वरो नभएको र खोकी पनि नरहेको बताएका छन् । बाग्लुङमा भेटिएकी किशोरी पनि पोखरामा उपचार गराइरहेकी छिन् । उनको अवस्था पनि सामान्य बन्दै गएको छ ।
यसैगरी संक्रमितसँग सम्पर्कमा आएका सबैलाई आइशोलेशनमा राखिएको छ । जसमध्ये परिवार, आफन्त र सँगै प्लेनमा आएकाहरु छन् । तीमध्ये भेटिएका जतिलाई आइशोलेशनमा राखिएको छ । कतिपयलाई टेष्ट गर्दा नेगेटिभ भेटिएको छ ।
९ माघमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएपनि त्यसयता दुई महिना कुनैपनि संक्रमित भेटिएका थिएनन् । ९ चैत्रमा दोस्रोपटक संक्रमण फेला पर्यो । त्यसपछि गत हप्ता एकैपटक चारजना सक्रमित भेटिए ।
संक्रमितमध्ये दुईजना युरोप, दुईजना संयुक्त अरब इमिरेट्स र एकजना चीनबाट फर्केका नेपाली हुन् । दुईजना वैदेशिक रोजगारीबाट फर्केका हुन् भने तीन जना अध्ययनका सिलसिलामा विदेश गएका विद्यार्थी हुन् ।



प्रतिकृया