मनाङ मर्स्याङ्दीलाई चौथो पटक बुढासुब्बा गोल्ड कप
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०७:३९
मोरङ । धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको २२ औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धरान १६ स्थित रंगशालामा सम्पन्न उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो।

यससंगै बुढासुब्बामा मनाङले चौथो पटक उपाधि चुम्न सफल भएको छ। मनाङले यसअघि पुलिस क्लबलाई दुई पटक र सहारा क्लब पोखरालाई एक पटक पराजित गर्दै उपाधि हात पारेको थियो । उपाधि हात पारेको मनाङले १० लाख रुपैयाँ र ट्रफी हात पारेको छ। त्यसैगरि उपविजेतामा चित्त बुझाएको पुलिस क्लबले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । २२ औं संस्करणको उपाधि हात पार्ने क्रममा खेलको ११ औं मिनेटमा मनाङका दयानन्द सिंहले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र पुलिसका रक्षक र गोलरक्षक संजीत श्रेष्ठबीच तालमेल नमिल्दा सिंहले गोलको अवसर पाएका थिए।
पहिलो हाफमा १–० ले पछाडि परेको पुलिस त्यसपछि लयमा फर्कन सकेन। अग्रपंक्तिमा फितलो प्रदर्शन गरेको पलिसको फिनिसिङमा कमजोरी देखिएको थियो । लामो समय मैदान बाहिर रहेका कप्तान जुमानु राईले गरेका केही प्रहार बारबाट बाहिरिँदा पुलिसले गोलको अवसरहरु गुमाएको थियो । त्यसपछि खेलको ४९ औं मिनेटमा निशान लिम्बूले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहारले पुलिस क्लबको जाली चुमेको थियो। सो गोल मनाङका लागि दोस्रो गोलका रुपमा रहेको थियो।

यसैबीच, खेलको ६७ मिनेटमा पुलिसले पेनाल्टीको अवसर पाएको थियो। आफ्नो चौथो वैवाहिक वर्षगाठ मनाउने क्रममा भोला सिलवालले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई सुन्दर उपहार दिएका थिए । यद्यपि खेल बराबरीमा ल्याउन पुलिसका लागि सो गोलमात्र पर्याप्त हुन सकेन। अर्काेतर्फ निर्धा्रित ९० मिनेटपछि थप गरिएको इन्जुरी समयमा मनाङका लागि विमल रानाले पेनाल्टी बक्सभित्रबाट आकर्षक गोल गरे। उनले गोलका लागि प्रहार गरेको बल पुलिसका गोलरक्षक संजित श्रेष्ठले बचाउन सकेनन्।
मनाङका विमल राना उत्कृष्ट गोलकर्ताका रुपमा पुरस्कृत भएका थिए। त्यसैगरि उत्कृष्ट खेलाडी मनाङका अन्जन विष्ट घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा मनाङका अशोक बराल, उत्कृष्ट डिफेन्डरमा पुलिस क्लबका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डरमा मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवार्डमा पुलिस क्लबका कप्तान जुमानु राई र उत्कृष्ट कोच फुजा टोपे बने।
सबै उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरि सर्वा्धिक गोलकर्ताका रुपमा प्रतियोगितामा ४ गोल गरेका मनाङका दयानन्द सिंह पुरस्कृत भए। उनले ३५ हजार रुपैयाँ प्राप्त गरे। उदयीमान खेलाडी धरान फुटबल क्लबका दिवस मास्के घोषित भए ।



प्रतिकृया