नेपालमा कोरोना भाइरस प्रवेश , थप जोखिम हुनसक्ने
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार ०७:३५
काठमाडौं । नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ। उनको परिक्षण रिपोर्टमा भाइरस पोजिटिभ देखिएको आधारमा मन्त्रालयले सो जानकारी दिएको हो। नयाँ भाइरसको परिक्षण नेपालमा उपलब्ध नभएपछि राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचारको लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याव चीन पठाएको थियो। उनको रिपोर्ट विहिवार साँझ प्राप्त भएको हो।

बिरामीलाई शुक्रराज टेकु अस्पतालमा तीन दिनको उपचार पछि घर पठाइएको छ। अस्पतालले उपचारमा पुगेका उनलाई शंकास्पद लागेपछि आइसोलेशन वार्डमा भर्ना गरेको थियो। लाक्षणिक उपचार गरी अस्पतालले डिस्चार्ज गरेको थियो। रिपोर्ट आएपछि अस्पतालले उनी र उनको सम्पर्कमा पुगेका व्यक्तिहरुको समेत निगरानी गरिरहेको जनाएको छ। त्यसै गरी टेकु अस्पतालमा अर्को एक जना चीनवाट आएका व्यक्तिलाई पनि निगरानिमा राखिएको छ। यो भाइरसवाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेशन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ।

गत डिसेम्वर २०१९ मा पहिलो पटक देखा परेको यो भाइरस अन्य राष्ट्रहरु कोरिया,सिंहापुर,थाइल्याण्ड जापान,थाइल्याण्ड र अमेरिका,लगायत मूलुकमा फैलिसेको छ। यो भाइरस पशुवाट मान्छे र मान्छेवाट मान्छेमा सरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो रोगको कारण हालसम्म २५ भन्दा बढिको मृत्यु भएको र ५ सय ८१ जनामा संक्रमण भइसकेको छ।
नेपालमा चीनवाट दैनिक आवात जावात हुने र अन्य मूलुकमा समेत फैलिएको अवस्थामा नेपालमा यसको थप जोखिम रहेको मन्त्रालयले जनाएको छ।




प्रतिकृया