‘हाम्रो जनक शिक्षा, राम्रो जनक शिक्षा’ नारा अनुसारको काम भएनः शिक्षामन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ पुष २२ गते, मंगलवार ०३:३७
भक्तपुर, शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाईको अनुगमन गर्नु भएको छ ।

शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल लगायतको टोलीले आज केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रंगिन पाठ्यपुस्तक छपाईको अनुगमन गर्नुभएको हो ।

अनुगमनपछि संचारकर्मीसंग कुरा गर्दै मन्त्री पोखरेलले ‘हाम्रो जनक शिक्षा, राम्रो जनक शिक्षा’ नारा अनुसारको काम नभएको बताउनुभयो । उहाँले अबका दिनहरुमा सातवटै प्रदेशमा केन्द्रको कार्यालयलाई बिस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाई र वितरणको काम सुरु गर्ने गृहकार्यमा लागेको समेत बताउनुभयो ।

मन्त्री पोखरेलले ७५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेश मै केन्द्रको कार्यालय खोलेर केन्द्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । फागुन र बैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले पाठ्यपुस्तक समय मै पुर्याउन सकिने आधार पाएको बताउदै उहाँले भन्नुभयो–“अहिलेको अबस्था हेर्दा समय मै केटाकेटीहरुलाई पुस्तक पुर्याउने हाम्रो पहिलो जिम्मेवारी पुरा गर्न सक्छौ, कुनै समस्या आएमा सचिवस्तरीय बैठकले सुल्भाएर अगाडि बढ्छ ।”
उहाँले समय मै पुस्तक छपाई गरेर समयमै विद्यालयहरुमा पुर्याउन केन्द्रले आफैलाई परिवर्तन गर्दैै लैजानु पर्ने जरुरी रहेको बताउनुभयो । उहाँले केन्द्र अब आफै पनि आत्मानिर्भर तर्फ जानुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले आफू २०७२ सालमा शिक्षा मन्त्री हुँदा रंगीन पुस्तक छपाउने सपना र निर्णय अहिले पुरा भएको बताउनुभयो ।




प्रतिकृया