दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ०१:२६
२० असोज २०८३ काठमाडौं – दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ ।यातायात व्यवस्था विभागमा मंगलबार भएको उच्चस्तरीय बैठकले असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि सहभागी थिए ।
अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीका अनुसार चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि सरोकारवालाबीच छलफलपछि अग्रिम बुकिङ खोल्ने सहमति भएको हो । यस वर्ष दशैंको अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङ नखुल्दा यात्रुमा देखिएको अन्योल अब हट्ने अपेक्षा गरिएको छ ।
बैठकले लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने निर्णय गरेको छ । यस्तै, टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने तथा टिकटमा अनियमितता गर्ने व्यवसायी वा कर्मचारीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । सुरक्षित यात्रा तथा राजमार्गमा हुने अवरोध वा दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ । यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायतका अत्यावश्यक सामग्री अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
बसपार्क तथा टिकट काउन्टरमा यात्रुको चाप व्यवस्थापन गर्न सुरक्षा निकायको प्रभावकारी परिचालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा सहभागीहरूले दशैं, तिहार तथा छठलाई सुरक्षित र व्यवस्थित यातायातको पर्व बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।








प्रतिकृया