तिब्बतमा बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गर्यो
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ११:५९
१२ भदौ २०८३ काठमाडौं – तिब्बतको केरुङ क्षेत्रमा पहिरोका कारण बनेको तालबाट थप बाढी आउन सक्ने जोखिम बढेपछि चीनले उद्धार अभियान अस्थायी रूपमा स्थगित गरेको छ। अलजजिराका अनुसार चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै चीन सरकारले घटनास्थलमा खटिएका उद्धार टोलीलाई एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिएको छ।
चीन–नेपाल सीमावर्ती क्षेत्रमा बुधबार ठूलो पहिरो खसेपछि माटो, ढुंगा र भग्नावशेष थुप्रिएर ताल बनेको थियो। निरन्तरको वर्षाका कारण तालमा पानीको सतह बढ्दै गएपछि ताल फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम बढेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार तालको जलस्तर आगामी तीन दिनसम्म बढ्ने र सेप्टेम्बर १ (भदौ १६) आसपास उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ। ताल फुटेमा केरुङ बन्दरगाहसहित तल्लो तटीय क्षेत्रमा थप क्षति पुग्न सक्ने चेतावनी दिइएको छ। सीसीटीभीले सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको जनाएको छ। आपत्कालीन इन्जिनियरिङ टोलीले तालको अवस्था निरन्तर निगरानी गरिरहेको छ।

यसअघि उद्धार टोलीले बेपत्ता व्यक्तिहरूको खोजीका लागि ड्रोनमा आधारित थ्रीडी मोडलिङ, थर्मल इमेजिङ तथा प्रत्यक्ष खोजी प्रविधि प्रयोग गरिरहेको थियो। शुक्रबारसम्म प्रकोप प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको सीसीटीभीले जनाएको छ। पहिरोपछि अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ।




प्रतिकृया