रसुवा बाढी : उद्धारका लागि पाँच हेलिकोप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०९:१६
११ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको छ। प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। सेनाका अनुसार बिहीबार मात्रै ९७ जनाको उद्धार गरिएको छ।
बिहीबार बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। हेलिकोप्टरबाहेक अन्य माध्यमबाट थप ६३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। नुवाकोटदेखि चितवनसम्मका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २ हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ। उनीहरूले खोज तथा उद्धारसँगै राहत वितरणको कामसमेत गरिरहेका छन्।

गएराति सेनाका ११ वटा टोलीले जमिनबाट उद्धार कार्य गरेका थिए। आवश्यकताअनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सेनाका ११ वटा ट्रक परिचालन गरिएको छ। हालसम्म चार सटलमार्फत राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जानकारी दिएको छ।

यसैबीच, नेपाली सेनाको मेडिकल टोली थप परिचालन गरी त्रिशूली क्षेत्रमा बाढीबाट घाइते भएकाहरूको उपचारसमेत भइरहेको छ।




प्रतिकृया