अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
प्रकाशित मिति
२०८३ श्रावण २९ गते, शुक्रबार ०५:३१
२९ साउन २०८३ काठमाडौं – अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण अब अनिवार्य रूपमा डिजिटल प्रणालीमा अभिलेखीकरण गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
मन्त्रालयले कार्यविधिको पूर्ण विवरण आज आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय मापदण्ड तथा विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरणअनुसार तयार गरिएको कार्यविधिले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम अर्थात् निश्चयकारी कारण खुलाउनुपर्ने व्यवस्था गरेको छ।

अब अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु, अस्पताल लैजाँदै गर्दा बाटोमै भएको मृत्यु, मृत अवस्थामा अस्पताल ल्याइएका व्यक्ति तथा शव परीक्षण गरिएका सबै घटनाको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।

कार्यविधिअनुसार प्रत्येक मृतकलाई युनिक आइडेन्टिफिकेसन नम्बर (यूआइएन) उपलब्ध गराइनेछ। अस्पतालले चिकित्सकबाट जारी गरिएको मृत्युको कारणसहितको प्रमाणपत्र र यूआइएन मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही नम्बरका आधारमा स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात् वडा कार्यालयमा गएर मृत्यु दर्ता गर्न सकिनेछ।
अस्पतालमा हुने मृत्युको तथ्याङ्कलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग अन्तरआबद्ध गरिने मन्त्रालयले जनाएको छ। यसबाट मृत्यु दर्ता प्रक्रिया थप पारदर्शी हुनुका साथै फर्जी मृत्यु दर्ता तथा अभिलेखमा हुने गडबडी नियन्त्रण हुने अपेक्षा गरिएको छ।
कार्यविधिले अस्पताललाई मृत्युको अभिलेख राख्नेमात्र नभई रोक्न सकिने मृत्यु घटाउनसमेत योजना बनाउन बाध्य बनाएको छ। अस्पतालले आफ्ना संस्थामा भएका मृत्युका कारण र तथ्याङ्कको नियमित विश्लेषण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा मृत्यु रोकथामका उपाय कार्यान्वयन गर्नुपर्नेछ।
नयाँ प्रणालीलाई सहज बनाउन मोबाइल एप्लिकेसनसमेत प्रयोगमा ल्याइनेछ। यसको कार्यान्वयन तथा अनुगमनका लागि संघ, प्रदेश र स्थानीय तहमा सहजीकरण समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ।




प्रतिकृया