• १६ असोज २०८३, शुक्रबार
  • ११ः२० बिहान

डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०९:२८

२५ साउन २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले डिजिटल रूपैयाँको प्रयोगलाई अघि बढाउने तयारीस्वरूप अवधारणा पत्र सार्वजनिक गरेको हो। यसलाई नेपालको वित्तीय तथा मौद्रिक व्यवस्थापनमा आधुनिकतातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

National Life

अवधारणा पत्रमा डिजिटल रूपैयाँको प्रयोग विस्तार गर्न सके आगामी पाँच वर्षभित्र नोट छपाइको आवश्यकता करिब ५० प्रतिशतसम्म घट्न सक्ने प्रक्षेपण गरिएको छ। यसबाट नोट छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हुने खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार डिजिटल रूपैयाँको प्रभावकारी प्रयोगबाट भविष्यमा करिब ४ अर्ब ७३ करोड रुपैयाँ बचत हुन सक्ने अनुमान गरिएको छ। भौतिक मुद्राको व्यवस्थापनमा हुने खर्च घट्दा बचत भएको रकम अन्य प्राथमिकताका क्षेत्रमा परिचालन गर्न सकिने भएकाले यसले सार्वजनिक वित्तमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय बैंकले प्रस्ताव गरेको डिजिटल रूपैयाँ सर्वसाधारणको पहुँचमा रहने ‘रिटेल डिजिटल करेन्सी’ का रूपमा डिजाइन गरिने जनाएको छ। यसले बैंकिङ तथा भुक्तानी सेवामा सहजता ल्याउनुका साथै डिजिटल माध्यमबाट कारोबार गर्ने प्रवृत्तिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

डिजिटल मुद्राको अवधारणाले भौतिक नोटको विकल्प तयार गर्ने मात्रै नभई भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसमेत राखेको छ। भौतिक नोटको प्रयोग घट्दै जाँदा नोटको सुरक्षा, व्यवस्थापन तथा जाली नोटसम्बन्धी जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अवधारणा पत्रमा समावेश अध्ययन तथा सूचकहरूले वित्तीय तथा भुक्तानी प्रणालीमा पहुँच विस्तार र मुद्रा व्यवस्थापनसँग सम्बन्धित जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेका छन्।

नेपाल राष्ट्र बैंकको यो पहल कार्यान्वयनमा आएमा नेपालको मौद्रिक प्रणाली क्रमशः डिजिटलतर्फ रूपान्तरण हुनुका साथै नगद व्यवस्थापनमा हुने सरकारी खर्च घटाउने र आधुनिक भुक्तानी प्रणाली विकास गर्ने दिशामा महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ।

प्रतिकृया