सुनसरी घटनामा प्रचण्डको सुझाव– प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद अघि बढाऊन्
प्रकाशित मिति
२०८३ श्रावण १३ गते, बुधबार १०:३३
१३ साउन २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्नेमा जोड दिए।
उनले भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूले देखाएको एकता स्मरण गर्दै अहिले पनि त्यही स्तरको राजनीतिक परिपक्वता र सहकार्य आवश्यक रहेको बताए। साथै बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवाद पनि दिए।

प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने बताए। उनका अनुसार संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र वर्तमान अवस्था सहज बनाउन सकिन्छ।

उनले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, बाह्य तत्वबाट हुन सक्ने उक्साहटप्रति सतर्क रहन तथा सरकार, राजनीतिक दल र सबै सरोकारवालाले सामाजिक सद्भाव र शान्तिलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरे।




प्रतिकृया