यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ०९:२१
११ साउन २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ।
कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षाका कारण नदी–नाला, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिकृया