• २६ भदौ २०८३, शुक्रबार
  • २ः०९ राती

नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालन, पहिलो चरणमा आपत्कालीन सवारीलाई प्रवेश

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ०९:१४

११ साउन २०८३ काठमाडौं – काठमाडौं–नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण सुरु भएको करिब ८० महिनापछि आजदेखि औपचारिक रूपमा २४सै घण्टा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको र नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

National Life

आयोजनाका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। करिब एक सातादेखि १० दिनसम्म परीक्षण सञ्चालन गरिने र त्यसपछि सुरक्षा मापदण्ड पूरा भएपछि सर्वसाधारणका सवारीसाधनलाई क्रमिक रूपमा सञ्चालनको अनुमति दिइनेछ।

परीक्षण अवधिमा आपत्कालीन सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ। सर्वसाधारणका लागि सञ्चालन सुरु भएपछि कार, बस, ट्रक तथा अन्य सवारीसाधनबाट सरकारले तोकेको दरअनुसार टोल शुल्क लाग्नेछ। शुल्क भुक्तानीका लागि आरएफआईडीमा आधारित ‘एन–ट्याग’ तथा नगद दुवै व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री तथा पेट्रोल, डिजेल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रवेशमा प्रतिबन्ध लगाइएको छ। जापानको करिब २१ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड–१९ लगायतका कारण ढिलाइ भए पनि अब सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको यातायातलाई छिटो, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया