मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता हुने तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी
प्रकाशित मिति
२०८३ श्रावण १ गते, शुक्रबार १०:५९
१ साउन २०८३ काठमाडौं – आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोली बीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसअघि सिमरामा भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी भइरहेको हो।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक वार्ता जारी रहेको छ। यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको हो।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटा ले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।

यता, पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाह ले गरिरहेका छन्। टोलीमा मनोज पासवान (सिराहा), रिजन रानामगर (गोरखा), लक्ष्मी घिमिरे (भोजपुर), किरण परियार (बर्दघाट पश्चिम) र निर्गराज जैसी (कैलाली) सदस्यका रूपमा सहभागी छन्। दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढेकाले आजै औपचारिक सम्झौता हुने अपेक्षा गरिएको छ।




प्रतिकृया