एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको निर्णय, सातै प्रदेशबाट मन्त्री फिर्ता बोलाइने
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०५:३३
३१ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। प्रदेश सरकारहरूमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सातै प्रदेशबाट फिर्ता बोलाउने तयारी गरेको हो।
पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि एमालेसँग सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसले गठबन्धनबाट बाहिरिने निष्कर्ष निकालेको हो। ‘हाम्रा सातवटै प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीलाई उद्धृत गर्दै स्रोतले जनाएको छ।

यसअघि बुधबार कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको थियो। कर्णालीमा एमाले नेतृत्वको सरकार रहेको छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सञ्चालनमा छ।

कांग्रेस स्रोतका अनुसार अब बाँकी प्रदेशहरूमा पनि एमाले–कांग्रेसबीच भएको सत्ता सहकार्य क्रमशः अन्त्य गरिनेछ।
यद्यपि, केही प्रदेशमा नेकपासँग नयाँ समझदारी बने सरकारमै रहने सम्भावनाबारे छलफल भइरहेको छ। सहमति हुन नसके कांग्रेस सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने विकल्पमा अघि बढ्ने अनौपचारिक निष्कर्ष शीर्ष तहमा बनेको बताइएको छ।




प्रतिकृया