• २४ असार २०८३, बुधबार
  • १२:४३ बिहान

मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सक्रिय, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही हुने

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०२:३५

२३ असार २०८३ काठमाडौं –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि सरकारले प्रभावकारी कदम चालिरहेको बताएकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले बजारको अवस्था नियमित रूपमा अनुगमन भइरहेको र कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कडा कारबाही भइरहेको जानकारी दिइन्।

सांसद मदन कुमारी साहले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको, ढुवानी तथा हवाई भाडा बढ्दा महँगी थप चर्किएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। जवाफमा मन्त्री कुमारीले नेपाल राष्ट्र बैंक, नेपाल आयल निगम, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति लगायतका निकायबाट प्राप्त तथ्याङ्कका आधारमा प्रत्येक महिना बजार मूल्यको विश्लेषण गरिने बताइन्। उनका अनुसार स्थानीय तरकारीको मूल्यमा देखिएको उतारचढाव पेट्रोलियम पदार्थको मूल्य, उत्पादनको अवस्था र बजारमा बिचौलियाको प्रभावका कारण भएको हो।

Kamana Sewa

उनले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती भइसकेको र त्यसअनुसार सार्वजनिक यातायात तथा हवाई भाडा पनि समायोजन गरिएको जानकारी दिइन्। मन्त्री कुमारीले नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीमार्फत इन्धनको मूल्य निर्धारण गर्दै आएको उल्लेख गर्दै मध्यपूर्वको असहज परिस्थितिका बीच पनि इन्धन आपूर्ति सहज बनाइएको बताइन्।

Classic Tech Desktop

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत दैनिक रूपमा बजार अनुगमन भइरहेको र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कैफियत देखिएका आयातकर्ता, उत्पादक तथा विक्रेतालाई तत्काल जरिवाना तथा कारबाही गरिँदै आएको स्पष्ट पारिन्।

मन्त्री कुमारीका अनुसार बजारलाई व्यवस्थित बनाउन वाणिज्य विभागको अनुगमनलाई थप प्रभावकारी बनाइएको छ भने निजी क्षेत्र र सरोकारवालासँग पनि मूल्य समायोजन तथा उपभोक्तामैत्री बजार व्यवस्थापनका लागि समन्वय भइरहेको छ।

प्रतिकृया