• २३ असार २०८३, मंगलबार
  • ११:३६ बेलुका

कर्णालीका सबै स्थानीय तह र सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र दुई लेन बनाइने

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०२:२६

२३ असार २०८३ काठमाडौं – सरकारले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा स्तरोन्नति गर्ने घोषणा गरेको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली क्षेत्रको सडक तथा पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।

मन्त्री लम्सालका अनुसार हाल निर्माणाधीन सडक खण्डमा करिब नौ वटा पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ। स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुल निर्माण गरिने पनि उनले जानकारी दिए।

Kamana Sewa

उनले आगामी साउन ३ गते कर्णालीका विभिन्न सडक र पुलको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको उल्लेख गर्दै त्यहाँ देखिएका समस्या पहिचान गरी समाधानका लागि आवश्यक कदम चालिने बताए। ‘हाल रहेका एक लेन सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ। यसै आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी निर्माण कार्य सुरु गरिनेछ,’ मन्त्री लम्सालले भने।

Classic Tech Desktop

पहिरो प्रभावित क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिँदै उनले आगामी तीन वर्षभित्र पहिरोको समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित काम भइरहेको बताए। मन्त्री लम्सालले मुगुसहित सडक सञ्जाल नपुगेका वा कच्ची सडक भएका कर्णालीका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्‍याउन पर्याप्त बजेट विनियोजन गरिएको र चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए।

सडक दुर्घटना न्यूनीकरणका लागि सडकको स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै उनले उत्तरी चिनियाँ सीमासम्म सडक सञ्जाल विस्तार गर्ने योजनालाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको बताए। पर्यटकीय तथा रणनीतिक महत्वका सडकलाई सीमासम्म विस्तार गर्ने गरी काम अघि बढाइने उनको भनाइ छ।

स्थलगत निरीक्षणपछि सडक तथा पुल आयोजनाको थप प्रगति विवरण राष्ट्रिय सभामा प्रस्तुत गर्ने प्रतिबद्धता पनि मन्त्री लम्सालले व्यक्त गरेका छन्।

प्रतिकृया