चालू आवमा २६ अर्ब ९३ करोड बजेट रकमान्तर, अर्थ मन्त्रालय नै अग्रस्थानमा
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०९:२२
२२ असार २०८३ काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको छ।
चालू वर्षका लागि विनियोजन गरिएको तीन खर्ब चार अर्ब रुपैयाँ पुँजीगत बजेटसँग तुलना गर्दा रकमान्तरको आकार ६.६१ प्रतिशत पुगेको छ। यस्तै, जेठ मसान्तसम्म भएको एक खर्ब ३२ अर्ब रुपैयाँ पुँजीगत खर्चको तुलनामा रकमान्तरको आकार झन्डै २० प्रतिशत बराबर रहेको देखिन्छ। यसले आर्थिक वर्षको अन्त्यमा बजेट व्यवस्थापन र कार्यान्वयनमा पुरानै अभ्यास कायम रहेको संकेत गरेको छ।

बजेट अनुशासनको जिम्मेवारी बोकेको अर्थ मन्त्रालय नै रकमान्तर गर्ने निकायमध्ये अग्रस्थानमा देखिएको छ। मन्त्रालयले विभिन्न शीर्षकमा गरी तीन अर्ब ८६ करोड २० लाख १७ हजार रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको तथ्यांकले देखाएको छ।

अर्थ मन्त्रालयका अनुसार रकमान्तर गरिएको रकमको ठूलो हिस्सा कर प्रशासन, भन्सार सुधार, वित्तीय व्यवस्थापन तथा पूर्वाधारसम्बन्धी कार्यक्रमतर्फ केन्द्रित रहेको छ। सबैभन्दा ठूलो रकम एमसिए नेपालका लागि रकमान्तर गरिएको छ। गत चैत २५ गते एमसिए नेपाललाई दुई अर्ब ८९ करोड दुई लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको थियो, जुन अर्थ मन्त्रालयले गरेको कुल रकमान्तरको करिब तीनचौथाइ हिस्सा हो।
यस्तै, अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्यता शुल्क तथा विविध अनुदान शीर्षकमा २० करोड रुपैयाँ रकमान्तर गरिएको छ। त्यसैगरी, गत पुस २३ गते महालेखा नियन्त्रक कार्यालयका लागि १७ करोड ५९ लाख दुई हजार रुपैयाँ तथा चैत २४ गते भन्सार सुधार कार्यक्रमका लागि १४ करोड ८७ लाख ५० हजार रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ।




प्रतिकृया