• ५ भदौ २०८३, शनिबार
  • ६:०४ बेलुका

काम सम्पन्न नगरेपछि सुर्खेतमा चार निर्माण आयोजनाको ठेक्का रद्द

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार १०:४७

२२ असार २०८३ काठमाडौं – तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले चार निर्माण आयोजनाको ठेक्का सम्झौता रद्द गरेको छ। डिभिजनले सार्वजनिक सूचना जारी गर्दै पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि निर्माण व्यवसायीहरूले सम्झौताअनुसार काम सम्पन्न गर्न नसकेपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका सर्तअनुसार सम्झौता अन्त्य गरिएको जनाएको हो।

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी रुपेश केसीका अनुसार सम्बन्धित निर्माण व्यवसायीलाई बारम्बार अवसर दिँदा पनि अपेक्षित प्रगति हुन नसकेपछि कानुनी व्यवस्थाअनुसार ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।

Kamana Sewa

ठेक्का रद्द गरिएका आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथिको पूर्वतनाबयुक्त फलामे डण्डी प्रयोग गरिएको प्रबलित सिमेन्ट कङ्क्रिट (आरसिसी) मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी, बाँकेले लिएको थियो। त्यस्तै, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा बन्ने पूर्वतनाबयुक्त आरसिसी पुल निर्माणको ठेक्का जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी, सुर्खेतलाई दिइएको थियो।

Classic Tech Desktop

यस्तै, सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको जिम्मा टिडीआर कन्स्ट्रक्सन प्रालि, धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल सडकखण्डमा सडक पुनःस्थापना, नाला निर्माण तथा सडक संरक्षणको काम जनता बिल्डर्स, भेरीगङ्गा–९, सुर्खेतले गरिरहेको थियो।

यी चारवटै आयोजनामा सम्झौताअनुसार सन्तोषजनक प्रगति नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौताका सामान्य सर्त बमोजिम सम्झौता अन्त्य गरिएको डिभिजनले जनाएको छ। डिभिजनका अनुसार अब सम्झौता अन्त्यपछिको मूल्याङ्कन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइनेछ। साथै, सरकारलाई भएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाटै असुलउपर गरिने पनि कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय हिसाब–किताब मिलान प्रक्रिया पूरा गर्न पनि आग्रह गरेको छ।

प्रतिकृया