• १५ असार २०८३, सोमबार
  • २:१६ बेलुका

लुम्बिनीमा असार १२ सम्म २०.५ प्रतिशत मात्रै धान रोपाइँ, कमजोर मनसुनले किसान चिन्तित

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ११:२८

१५ असार २०८३ बुटवल – लुम्बिनी प्रदेशमा असार १२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको २०.५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लामा रोपाइँ प्रभावित भएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशभर धान खेती हुने ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६७०.५७ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ।

प्रदेश कृषि मन्त्रालयका बागबानी अधिकृत सन्देश धितालका अनुसार प्रतिशतका आधारमा अर्घाखाँचीमा सबैभन्दा बढी ११.२ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि बर्दियामा ११.३१ प्रतिशत, गुल्मीमा ७ प्रतिशत, प्युठानमा ५.५ प्रतिशत, नवलपरासी (पश्चिम) मा ५ प्रतिशत, रोल्पा र पाल्पामा ४–४ प्रतिशत, रुकुम (पूर्व) मा २.५ प्रतिशत, कपिलवस्तुमा १.५५ प्रतिशत, दाङमा १.५ प्रतिशत तथा बाँकेमा ०.५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ।

Kamana Sewa

धान उत्पादनका प्रमुख जिल्लामध्ये रुपन्देहीमा २७ हजार ३२६.५ हेक्टर अर्थात् ४३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ भने नवलपरासी (पश्चिम) मा १० हजार ४४३.५ हेक्टर अर्थात् ५० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका अधिकांश जिल्लामा पर्याप्त वर्षा नहुँदा विशेषगरी सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान आकाशे पानीकै भर पर्न बाध्य भएकाले रोपाइँको गति सुस्त बनेको हो।

Classic Tech Desktop

विगतका वर्षमा मध्य असारसम्म करिब आधा क्षेत्रमा धान रोपाइँ सम्पन्न हुने गरे पनि यस वर्ष मनसुन कमजोर रहेकाले रोपाइँ अपेक्षाअनुसार अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ। बागबानी अधिकृत धितालले असार १४ गतेदेखि वर्षा सुरु भएकाले आगामी दिनमा रोपाइँको गति बढ्ने अपेक्षा गरिएको बताउँदै तथ्यांक हरेक शुक्रबार अद्यावधिक गरिने जानकारी दिए।

प्रतिकृया