• १४ असार २०८३, आइतबार
  • १:४३ बेलुका

आज बस्दै प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार १०:५५

१४ असार २०८३ काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने जनाएको छ। बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनमा सुनाउने कार्यसूची रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन सदनमा पेश गर्नेछन्। साथै, उनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र उक्त विधेयक पेश गर्ने कार्यसूची पनि रहेको छ।

Kamana Sewa

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित विधेयक सदनमा पेश गर्नेछन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक पेश गर्ने कार्यसूची रहेको छ।

Classic Tech Desktop

यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक सदनमा पेश गर्नेछिन्। बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनमाथि छलफल गरी निर्णय गरिनेछ। त्यसपछि अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको दफावार छलफल, संशोधनमाथि निर्णय तथा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने कार्यसूचीमा समावेश छ। बैठकको अन्त्यमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया