• २८ जेठ २०८३, बिहीबार
  • ४:२२ बेलुका

बजेट कार्यान्वयन र कर नीतिप्रति अमरेशकुमार सिंहको कटाक्ष, अर्थमन्त्री वाग्लेमाथि कडा टिप्पणी

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार ०१:४६

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कडा कटाक्ष गरेका छन्। उनले कार्यान्वयन नहुने खालको बजेट ल्याइएको भन्दै यसले आम गरिब जनतालाई प्रत्यक्ष रूपमा नछोएको टिप्पणी गरे। सिंहले अर्थमन्त्रीको शैक्षिक पृष्ठभूमि र नीतिगत दृष्टिकोणप्रति पनि प्रश्न उठाएका छन्।

सिंहले भने, “यो बजेटबाट नेपालको कति प्रतिशत जनशक्ति खुसी भयो? बैंकमा निक्षेप बढिरहेको छ तर ऋण लिने वातावरण छैन।” उनले वर्तमान आर्थिक वातावरणमा डरको माहोल रहेको भन्दै डरले विकास सम्भव नहुने धारणा राखे। उनले शिक्षा र स्वास्थ्यमा कर लगाउने विषय संविधानविपरीत भएको दाबी गर्दै मौलिक अधिकारमा कर लगाउन नपाइने तर्क गरे। निजी विद्यालय र अस्पतालमार्फत विद्यार्थी तथा सेवाग्राहीमाथि अप्रत्यक्ष कर थोपरेको उनको आरोप थियो।

Kamana Sewa

बूढानीलकण्ठ विद्यालयको उदाहरण दिँदै उनले अर्थमन्त्रीसँग जोडिएको शैक्षिक सञ्जालप्रति व्यंग्य गरे। उनले सातै प्रदेशमा बूढानीलकण्ठजस्तै विद्यालय स्थापना गर्नुपर्ने अपेक्षा राखिएको भए पनि बजेटमा त्यसको अभाव रहेको बताए।

Classic Tech Desktop

सिंहले किसान, गरिब र दुर्गम क्षेत्रका समस्यालाई बजेटले पर्याप्त रूपमा सम्बोधन नगरेको टिप्पणी गर्दै उत्पादन र रोजगारी सिर्जनामा सरकार असफल भएको दाबी गरे।

उनले युवाको बेरोजगारी, व्यापार घाटा र वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरे। साथै उनले पुँजीगत खर्च न्यून रहेको र ऋण बढ्दै गएको भन्दै बजेट कार्यान्वयनप्रति गम्भीर आशंका व्यक्त गरे।

सिंहले हरेक वर्ष बजेटले “नेपालको कायापलट हुन्छ” भन्ने आशा देखाए पनि व्यवहारमा परिणाम नदेखिएको टिप्पणी गर्दै वर्तमान आर्थिक नीति दीर्घकालीन समाधानतर्फ केन्द्रित नभएको बताए।

प्रतिकृया