आजबाट बजेटमाथि छलफल सुरु, अर्थमन्त्री वाग्लेले विनियोजन र ऋण उठाउने विधेयक पेश गर्ने
प्रकाशित मिति
२०८३ जेष्ठ २५ गते, सोमबार ०८:५९
२५ जेठ २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिने कार्यक्रम रहेको छ।

यस्तै, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने तथा विधेयक सदनमा पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पनि आजको बैठकमा पेश गरिनेछ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) तथा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेश गर्ने कार्यसूची पनि रहेको संघीय संसद सचिवालयले जनाएको छ।
आजको बैठक बजेटमाथिको संसदीय छलफल सुरु हुनुका साथै विभिन्न महत्वपूर्ण आर्थिक तथा श्रमसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरू संसदमा पेश हुने भएकाले विशेष महत्वका साथ हेरिएको छ।




प्रतिकृया