सोमबार देशभर सामान्य बदली, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति
२०८३ जेष्ठ १८ गते, सोमबार ०९:१६
१८ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका विभिन्न भूभागमा मौसम सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ।

आज राति भने देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।




प्रतिकृया