‘जेन्जी आन्दोलन’का सहिद–घाइतेका माग पूरा गर्न सरकार प्रतिबद्ध : असिम शाह
प्रकाशित मिति
२०८३ जेष्ठ २ गते, शनिबार ०६:५९
२ जेठ २०८३ काठमाडौं- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान संशोधनसम्बन्धी सुझाव सङ्कलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा आयोजना गरेको छलफलमा बोल्दै शाहले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’कै जगमा बनेको उल्लेख गरे ।

छलफलका क्रममा आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यहरूले अघिल्लो सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गर्दै आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

जवाफमा संयोजक शाहले सरकारले आन्दोलनका भावना र बलिदानलाई नबिर्सिएको बताउँदै सरकारप्रति कुनै भ्रम नराख्न आग्रह गरे । “यो सरकार जेन्जी आन्दोलनकै जगमा बनेको हो । तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ । त्यसैले यो सरकार तपाईँहरूकै सरकार हो,” उनले भने ।
उनले सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै सरकार र आन्दोलन पक्षबीच संवादमा केही दूरी बढेको स्वीकार गरे । अब आफ्ना मागका लागि थप दौडधुप गर्न नपर्ने आश्वासन दिँदै उनले माग पूरा गर्न सरकार आफैँ सक्रिय हुने बताए ।
कार्यदलका सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का सचिव लिलाधर सुवेदी ले पनि सरकार आन्दोलनका माग कार्यान्वयनका लागि पहल गर्न तयार रहेको बताए ।
सरकारका तर्फबाट स्पष्ट प्रतिबद्धता आएपछि छलफलमा सहभागी घाइते तथा सहिद परिवारका सदस्यहरूले सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले आजको संवादपछि आफ्ना माग कार्यान्वयनका लागि सरकारसँग सहकार्य र संवादको बाटो खुलेको बताएका छन् ।




प्रतिकृया