कम्बोडियामा अलपत्र परेका १२ नेपालीको उद्धार, स्वदेश फिर्ता
प्रकाशित मिति
२०८२ चैत्र १७ गते, मंगलवार ११:२०
१७ चैत,२०८२ काठमाडौं – कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडिया को समन्वयमा उनीहरूको उद्धार गरिएको हो।
उद्धार गरिएका नेपालीहरू चैत १६ गते कम्बोडियाबाट प्रस्थान गरी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। राजदूतावासका अनुसार उनीहरू विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन ठगी केन्द्र तथा क्यासिनोमा गैरकानुनी काममा लगाइएका थिए। केही नेपालीहरू बिना भिसा बसिरहेको अवस्थामा पनि भेटिएका थिए।
यस्तै, कम्बोडियामा यस्तै समस्यामा परेका अन्य नेपालीको उद्धार तथा स्वदेश फिर्ता प्रक्रिया पनि जारी रहेको जनाइएको छ। त्यस अवस्थामा रहेका नेपालीलाई सम्पर्कमा आउन राजदूतावासले आग्रह गरेको छ।
राजदूतावासले अनलाइन ठगी केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा नेपाल फर्किन चाहनेका लागि नि:शुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको जनाएको छ।
पछिल्लो तथ्याङ्कअनुसार कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना पुगेकोमा सन् २०२५ मा यो संख्या ९,६७६ पुगेको छ।
राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ।






प्रतिकृया