शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार ०९:२५
२६ फाल्गुन,२०८२ काठमाडौं- शिखर पावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ।
दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।








प्रतिकृया