एमालेको हारपछि संयमित समीक्षा गर्न सूर्य थापाको आग्रह
प्रकाशित मिति
२०८२ फाल्गुन २५ गते, सोमबार ०९:०६
२५ फाल्गुन,२०८२ काठमाडौं- नेकपा एमालेका नेता सूर्य थापाले पार्टीभित्र देखिएको बहस र आलोचनालाई संयमित रूपमा समीक्षा गर्नुपर्ने बताएका छन्। उनले मिडिया र सडकमा गालीगलौज गरेर सही निष्कर्षमा पुग्न नसकिने उल्लेख गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अपेक्षाभन्दा कमजोर नतिजा व्यहोरेपछि सामाजिक सञ्जालमा नेतृत्वले राजीनामा दिनुपर्ने बहस चर्किएको छ। सोही सन्दर्भमा थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले पार्टीभित्रका विषयमा स्थापित आन्तरिक अभ्यासअनुसार नै छलफल र समीक्षा हुनुपर्ने बताएका छन्। साथै, पार्टी महाधिवेशनमा अस्वीकृत भइसकेका विषयलाई आधार बनाएर पुनः चलखेल गर्नु बुद्धिमानी नहुने पनि उनले बताएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफूहरूका लागि अनपेक्षित रहेको थापाले उल्लेख गरेका छन्। देशको दीर्घकालीन हितविपरीत बाह्य प्रभाव, दुष्प्रचार र ठूलो लगानीका कारण यस्तो अवस्था सिर्जना भएको उनको दाबी छ।
समयक्रममा ती गतिविधिहरूको वास्तविकता खुल्दै जाने पनि उनले बताएका छन्। निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले प्राविधिक रूपमा घोषित परिणामलाई स्वीकार गरिएको बताए। तर राजनीतिक घटनाक्रमको विश्लेषणका आधारमा अहिले देखिएको परिणाम अस्थायी मात्र हुन सक्ने उनको धारणा छ।
थापाले अहिलेको अवस्थामा पार्टीभित्र संयम र विवेकका साथ समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। विरोधी शक्तिहरूको प्रभावमा परेर अनावश्यक विवाद सिर्जना नगर्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
उनले वर्तमान अवस्था राष्ट्र र जनताका लागि साझा चुनौती भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा एकताबद्ध भएर मात्र समस्याको सामना गर्न सकिने बताएका छन्।








प्रतिकृया