ऋषि धमला भन्छन्– ‘मोबाइल’ चिन्हसँग मेरो कुनै दलगत सम्बन्ध छैन
प्रकाशित मिति
२०८२ फाल्गुन २५ गते, सोमबार ०८:५७
रौतहट- रौतहट–४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको स्पष्ट पारेका छन्। उनले यस निर्वाचनमा प्रयोग गरेको ‘मोबाइल’ चुनाव चिन्ह कुनै दलसँग सम्बन्धित नभएको पनि बताएका छन्।
रौतहटबाट काठमाडौं फर्किएपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै धमलाले आफू चुनावमा जानुअघि बालेन शाहले बोलाएर टिकट दिएको स्मरण गराए। उनले ‘मोबाइल’ चिन्ह आम जनता पार्टी र जनादेश पार्टीबीचको सहमतिअनुसार लिएको बताए।
धमलाले भने, “म चुनावमा गएको जनताको जनादेश मान्ने मान्छे हुँ। मोबाइल चिन्ह र त्यो पार्टीसँग मेरो सम्बन्ध छैन। चुनावमा जाने भएपछि मात्र त्यो चिन्ह लिएको हुँ, मैले कुनै पनि दलको सदस्यता लिएको छैन।”
सो अवसरमा उनले देशभरबाट निर्वाचित भएका सबै सांसदलाई बधाई तथा शुभकामना पनि दिएका छन्। उनले बालेन शाह प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गर्दै नयाँ सरकारले धेरै महत्वपूर्ण काम गर्नुपर्ने बताए।
धमलाले २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिए। “मेरो एकसूत्रीय एजेण्डा भनेको दोषीलाई कारबाही गर्ने हो, अब कसैलाई पनि छोड्नु हुँदैन,” उनले भने।
उनले मधेश प्रदेशबाट प्रधानमन्त्री बन्नुपर्ने धारणा आफूले पहिल्यै राखेको उल्लेख गर्दै देशको विकासका लागि औद्योगिकीकरण, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा आवश्यक रहेको बताए। साथै श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ। धमलाले जेनजी आन्दोलनका क्रममा निर्दोष युवामाथि भएको दमनको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गरेका छन्।
यस्तै, उनले संघीयतामा व्यापक सुधार आवश्यक रहेको बताउँदै सुधार सम्भव नभए खारेज गर्नुपर्ने धारणा व्यक्त गरे। “यथास्थितिमा रहेको संघीयताले देशको विकास हुँदैन, जनमुखी बनाउनुपर्छ, होइन भने खारेज गरौँ,” उनले भने।
धमलाले आफू रौतहटवासीको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै जनताले दिएको माया र समर्थनप्रति आभार व्यक्त गरेका छन्।








प्रतिकृया