के तपाई सगं मतदाता परिचयपत्र छैन? यी ६ परिचयपत्रले पनि गर्न सकिन्छ मतदान
प्रकाशित मिति
२०८२ फाल्गुन २१ गते, बिहीबार ०७:०९
२१ फाल्गुन,२०८२ काठमाडौं– आज देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचनलाई व्यवस्थित र सहज बनाउन निर्वाचन आयोगले मतदाताका लागि आवश्यक व्यवस्था र निर्देशन सार्वजनिक गरेको छ।
आयोगका अनुसार मतदान गर्न जाँदा मतदाताले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। मतदाता परिचयपत्र नभए पनि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै, शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैं मतदान गर्न कठिनाइ हुने मतदाताका लागि विशेष सहजीकरणको व्यवस्था गरिएको आयोगले जनाएको छ।
यस्ता मतदाताले आवश्यक परेमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, खटिएका कर्मचारी वा स्वयंसेवकबाट सहयोग लिन सक्ने व्यवस्था मिलाइएको छ। आयोगले सबै मतदातालाई निर्धक्क र मर्यादित ढंगले मतदानमा सहभागी हुन आग्रह गरेको छ।








प्रतिकृया