• ४ साउन २०८३, सोमबार
  • १:४२ बिहान

आज प्रतिनिधि सभाको निर्वाचन,यी सवारीसाधनलाई आवश्यक छैन पास

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०६:५०

२१ फाल्गुन,२०८२ काठमाडौं – आज देशभर प्रतिनिधि सभाका लागि आम निर्वाचन हुँदैछ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा यो निर्वाचन हुन लागेको हो।

देशको २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चयन गर्न मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

Kamana Sewa

६ हजार ५७१ उम्मेदवार चुनावी मैदानमा

प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

Classic Tech Desktop

समानुपातिकतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसरी कुल ६ हजार ५७१ उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

मतदाता संख्या ९ लाखभन्दा बढीले वृद्धि

आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्न पाउनेछन्। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना रहेका छन्।

२०७९ सालको निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले बढेको छ। पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला ३ लाख ९२ हजार ५५२ र अन्य १५ जनाले वृद्धि भएको आयोगले जनाएको छ।

१० हजारभन्दा बढी मतदान स्थल

देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। अघिल्लो निर्वाचनको तुलनामा मतदान स्थल ७५ र मतदान केन्द्र ८८५ ले वृद्धि गरिएको छ।

सुरक्षा संवेदनशीलताका आधारमा ३ हजार ६८० मतदान स्थल ‘अति संवेदनशील’, ४ हजार ४४२ ‘संवेदनशील’ र २ हजार ८४५ ‘सामान्य’ श्रेणीमा वर्गीकरण गरिएको छ। मतदान स्थलमा तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको छ—सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, बीचमा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी खटिएका छन्।

६ प्रकारका परिचयपत्र मान्य

मतदाता परिचयपत्रसहित नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र देखाएर पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैं मतदान गर्न कठिनाइ हुने मतदाताका लागि विशेष सहजीकरणको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

यी सवारीसाधनलाई पास आवश्यक छैन

मतदानको दिन अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ। दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा–मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार तथा विद्युत मर्मतका सवारी, अस्पताल सेवाका सवारी, हवाई यात्रु बोकेका सवारी, अशक्त तथा ज्येष्ठ नागरिक मतदाता बोकेका सवारी, कूटनीतिक नियोगका ‘सिडी’ नम्बर प्लेट भएका सवारी तथा प्रेस पास र पर्यवेक्षक परिचयपत्र भएका सवारीसाधनलाई पास आवश्यक नपर्ने जनाइएको छ।

आजको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले सबै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेको छ।

प्रतिकृया