ग्यास आपूर्ति मागभन्दा बढी, चिन्ता नलिन निगमको आग्रह
प्रकाशित मिति
२०८२ माघ २१ गते, बुधबार ०२:३७
२१ माघ,२०८२ काठमाडौं – नेपाल आयल निगमले पछिल्लो समय बजारमा फैलिएको खाना पकाउने एलपी ग्यास अभावको हल्ला निराधार भएको भन्दै तथ्यांक सार्वजनिक गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेको छ। तर, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट हालका दिनमा मागभन्दा धेरै ग्यास लोडिङ भइरहेको छ।
भट्टले सार्वजनिक गरेको तथ्यांकअनुसार गत शनिबार १ सय १८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिन्डर), आइतबार १ सय १५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिन्डर) र मंगलबार १ सय ३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिन्डर) ग्यास लोडिङ भएको छ। उनले लोडिङ भएका बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको पनि जानकारी दिए।
निगमले आगामी चुनाव अवधिभरि पनि नियमित ग्यास आपूर्ति भइरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न अनुरोध गरेको छ। आपूर्ति सहज र पर्याप्त रहेकोले बजारमा अभाव हुने त्रासमा नपर्न निगमले आग्रह गरेको छ।
निगमले भनेका छन् कि अनावश्यक सञ्चयले मात्र बजारमा कृत्रिम दबाब सिर्जना हुन्छ र आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकोले उपभोक्ताले ढुक्क हुन सक्ने बताए।







प्रतिकृया