भुजुङ्ग हाइड्रोपावरको आईपीओ माघ १२ देखि खुल्ने
प्रकाशित मिति
२०८२ माघ २ गते, शुक्रबार ०९:४९
२ माघ,२०८२ काठमाडौं – भुजुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले माघ १२ गतेदेखि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० लाख कित्ता र श्रम स्वीकृति लिएर विदेशमा गएका नेपालीका लागि १ लाख कित्ता सेयर निष्कासन गरिसकेको छ।
कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर छुट्याएको छ। बाँकी प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन माघ १५ गतेसम्म दिन सकिनेछ। सो अवधिमा मागअनुसार आवेदन नपरेमा म्याद माघ २६ गतेसम्म थपिने जनाइएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।








प्रतिकृया