आवेदन अपुग भएपछि गुल्मीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
प्रकाशित मिति
२०८२ माघ २ गते, शुक्रबार ०९:४४
२ माघ,२०८२ काठमाडौं – गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि नेपाल प्रहरीले आवेदनको समयावधि थप गरेको हो।
यसअघि माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्र आवेदन परेको छ। माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयको भनाइ छ।

यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ। सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आगामी निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति पूर्ति गर्ने उद्देश्यले म्याद थप गरिएको हो। तोकिएको योग्यता पूरा गरेका इच्छुक युवालाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरिएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षाकर्मीको व्यवस्था आवश्यक भएकाले थपिएको दुई दिनमा आवेदन संख्या बढ्ने अपेक्षा गरिएको छ।
प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि देशभर हाल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया जारी रहेको छ।




प्रतिकृया