कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे बस्ने
प्रकाशित मिति
२०८२ पुष २९ गते, मंगलवार ०९:५०
२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक समय परिवर्तन गरी दिउँसो १ बजे बस्ने गरी तय गरिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकाले कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले भने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने जनाएका छन् ।
विवाद समाधानका लागि हाल विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक बताइरहेका छन् भने विशेष पक्षधरहरूले नेतृत्व र नीति चयन गर्दै अघि बढ्ने अडान लिएका छन् ।






प्रतिकृया