होटल फरेष्ट इनको आईपीओ माघ ४ देखि
प्रकाशित मिति
२०८२ पुष २४ गते, बिहीबार ११:३०
२४ पुस,२०८२ काठमाडौं – होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई बिक्री गर्न लागिएको हो ।
आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यसअनुसार लगानीकर्ताले कम्तीमा १ हजार रुपैयाँ र बढीमा २ करोड रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । निष्कासन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बन्द हुनेछ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ । यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।








प्रतिकृया