सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलन पुनर्निर्माण कोषमा १ करोड १० लाख सहयोग
प्रकाशित मिति
२०८२ पुष २१ गते, सोमबार ११:५५
२१ पुस,२०८२ काठमाडौं — सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १० लाख रुपैयाँ योगदान गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रकम सहयोग उपलब्ध गराएको जनाएको छ । सो रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खनालले कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उक्त सहयोगसहित सोमबारसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा रकम १३ करोड ३५ लाख ६५ हजार पुगेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेन–जी आन्दोलनसम्बन्धी करिब २ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानीसमेत गरिसकेको जनाएको छ । कम्पनीले अन्य इन्स्योरेन्स कम्पनीको तुलनामा दाबी भुक्तानी प्रक्रिया छिटो अघि बढाएको बताइएको छ ।







प्रतिकृया