• १२ असोज २०८३, सोमबार
  • १०ः०८ राती

कात्तिकमा रेमिटेन्स घट्यो, असोजको तुलनामा ६४ अर्बले कमी

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०३:४३

मंसिर २९,२०८२ काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा रेमिटेन्स आप्रवाह असोज महिनाको तुलनामा घटेको छ। असोजको तुलनामा कात्तिकमा ६४ अर्ब रुपैयाँले रेमिटेन्स घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

National Life

राष्ट्र बैंकका अनुसार २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। असोज महिनामा भने २ खर्ब १ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको थियो।

यद्यपि, चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। २०८२/८३ को पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

गत आवको कात्तिक महिनामा रेमिटेन्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा गणना गर्दा चालु आवको चार महिनामा रेमिटेन्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो।

यस अवधिमा खुद द्वितीय आय पनि वृद्धि भएको छ। चालु आवको कात्तिकसम्म खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जब कि गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो।

वैदेशिक रोजगारीतर्फ हेर्दा, चालु आवको कात्तिकसम्म अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९ सय ७३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८ सय ३७ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ रहेको थियो।

प्रतिकृया