टीआई नेपालद्वारा महान्यायाधीवक्ता सबिता भण्डारी बराल साधारण सदस्यबाट निलम्बित
प्रकाशित मिति
२०८२ मंसिर २८ गते, आईतवार ०१:००
मंसिर २८,२०८२ काठमाडौं— ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई नेपाल) ले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भएपछि र त्यससँग जोडिएर केही विवाद उत्पन्न भएपछि कार्यसमितिले निलम्बनको निर्णय गरेको हो।
कार्यसमितिका एक सदस्यका अनुसार संस्थाका आफ्नै मूल्य–मान्यता र विश्वास भएकाले पदाधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन आवश्यक ठानिएको हो। “विवाद सुरु भएदेखि नै उहाँलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उहाँले अस्वीकार गर्नुभयो,” ती सदस्यले भने, “त्यसैले हाललाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरिएको हो।”
उनका अनुसार विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनर्विचार हुनसक्ने पनि बताइएको छ। सार्वजनिक पदमा रहेकी व्यक्ति स्वयंले गर्नुपर्ने निर्णयबारे सार्वजनिक वृत्तमा प्रश्न उठेपछि कार्यसमितिले यो कदम चालेको जनाइएको छ।
विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन र त्यसविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। बरिष्ठ अधिवक्ता समेत रहेकी सबिता भण्डारी बराल टीआई नेपालको साधारण सदस्य हुन् भने यसअघि पटक–पटक कार्यसमितिमा निर्वाचित भएकी थिइन्।








प्रतिकृया